१. जीवनमूल्य शिक्षा किन ?

१.१ सन्दर्भ तथा पृष्ठभूमि

संसारको प्रत्येक बालक जन्मजात जिज्ञासु, न्याय र खुसी चाहने, सही कार्यव्यवहार गर्न इच्छुक र सत्यवक्ता हुन्छ । अलगअलग परिवेशमा रहेर हुर्कदै गर्दा बच्चा बिस्तारैबिस्तारै आफ्ना यी मूलभूत गुणहरुबाट टाढा हुँदै जान्छ । आजका बालबालिकाको लालनपालन जुन वातावरणमा भइरहेकोछ त्यो वातावरण अस्थायी र सामन्जस्य विहीन छ । निरन्तर बदलिँदो सामाजिक तथा आर्थिक आयामले गर्दा आजका बालबालिका भविष्यमा कस्ता हुन्छन् र तिनले कुन किसिमका कार्य गर्लान् भन्ने कुराको कल्पना गर्न पनि गाह्रो छ । सफलता पाउन हामी यो संसारको भीडमा संघर्षशील छौँ तर हाम्रा लाख कोशिश पश्चात पनि हामी खुसी हुन सकिरहेका छैनौँ । यदि हामीले स्वयंमा खुसी रहन सिक्यौँ भने तनावको स्तर कम हुन्छ र स्वयंका साथसाथै अरुप्रति पनि गहिरो अन्तर्दृष्टि विकसित हुन्छ । परिणामस्वरुप एक सुखी व्यक्तिको गहिरो आत्मखोज (Self-Discovery) प्रति झुकाव हुन्छ ।

उपर्युक्त तथ्यको चिन्तन गर्दा हामी के सोच्न बाध्य हुन्छौँ भने शिक्षाको मुख्य उद्देश्य विद्यार्थीहरुलाई भाषा, साक्षरता, अङ्कको ज्ञान, सीप तथा कलाको विकास गर्न मदत गर्नुका साथै बालबालिकाको कल्याण र खुसीतर्फ पनि ध्यान दिने हुनुपर्छ ।

१.२ विद्यालय परिवेशमा जीवनमूल्य शिक्षा

शिक्षाको उद्देश्य अत्यन्त विशाल छ । त्यसैले यसलाई वर्तमान समाजको आवश्यकताबाट अलग राखेर हेर्न सकिँदैन । अनेक शोध एवं अनुसन्धानले शिक्षाको प्राथमिक उद्देश्य आश्वस्त, सजग, उत्तरदायी एवं सुखी व्यक्तिहरुको निर्माण गर्नु हो जसले मिलेर सुखी तथा सामन्जस्यपूर्ण समाज खडा गर्न सकून् भन्ने कुरातर्फ इशारा गर्दछ ।

खुसीयाली वातावरणमा विद्यार्थीले राम्रोसँग सिक्न सक्छन् भन्ने कुरा विश्वमा स्थापित मान्यता हो । यस दिशामा संसारभरिका विद्यालयहरुमा काम पनि भइरहेकै छन् । यसै सन्दर्भमा समाजमा शान्ति र खुसीयाली ल्याउने हो भने बालबालिकाबाट सुरु गर्नु पर्दछ भन्ने उद्देश्यका साथ विश्वका विभिन्न देशमा प्रयोगमा रहेका बालबालिकाहरुमा खुसीको पहिचान र यसको प्राप्तिमा आधारित पाठ्यक्रमहरु तथा मध्यस्थ दर्शन तथा सहअस्तित्ववादमा आधारित दिल्ली राज्य सरकारबाट प्रयोगमा ल्याइएको Happiness Curriculum बाट  जीवनमूल्य शिक्षाको निर्माण गरिएको हो । यो विषयलाई विद्यालयमा लागु गर्नाले बच्चामा आत्मान्वेषण (Self Discovery) तथा स्वयंमा सामन्जस्यता (Harmony within the self) स्थापित गर्ने प्रक्रिया सुनिश्चित गरिएको छ । यदि बच्चामा सुरुदेखि नै खुसीको बीजारोपण गरियो भने ऊ निश्चितरुपमा तनावरहित तथा सुखी वयस्कको रुपमा विकसित हुनसक्छ । यो जीवनमूल्य शिक्षा अझ राम्रो, सकारात्मक तथा जोशयुक्त एवं सुखी समाजको स्थापना गर्ने दिशामा कोशेढुङ्गा सावित हुने छ । 

२. मुख्य उद्देश्यहरुः

१.    विद्यार्थीमा ध्यान दिने तथा सजगताको विकास गराउनेः

        केटाकेटीमा स्वयं प्रति जागरुकताको स्तर बढ्छ तथा ध्यान दिने क्षमताको विकास हुनेछ ।

        विषयबस्तुलाई ध्यान दिएर बुझ्न सक्ने हुनेछन् ।

        शैक्षिक तथा पठन पाठनका गतिविधिहरुमा अझ राम्रो प्रदर्शन गर्न सक्नेछन् ।

        अध्ययनप्रति रुचि बढ्नेछ ।

        सुन्ने क्षमताको विकास हुनेछ । (शिक्षक, परिवारजन तथा सहपाठी आदि सँगको छलफलमा)

        वर्तमानमा गरिरहेको कार्यप्रति ध्यान केन्द्रित हुनेछ । ध्यान भङ्ग हुने सम्भावना घट्नेछ ।

        वर्तमानमा केन्द्रित रहन सिक्नेछन् । जस्तैवरिपरि तथा स्वयंभित्र घटित हुने घटनाहरूप्रति जागरुक हुनेछन् ।

        फूले गरिरहेको कार्यप्रति सजग हुनेछन् र कुनै काम गर्नु अघि विचार गर्नेछन् ।

२.    विद्यार्थीहरुमा गहन विचार तथा चिन्तनको विकास गराउनेः

 आफू तथा अरूलाई राम्रोसँग बुझ्न चिन्न सक्नेछन् ।

        कसैको विचार तथा व्यवहारलाई बुझ्ने योग्यता तथा त्यसमा प्रतिक्रिया (Response) गर्ने क्षमताको विकास हुनेछ ।

        आलोचनात्मक रूपमा सोच्न थाल्नेछन् र विना मूल्याङ्कन विश्वास गर्ने छैनन् ।

        समाधान केन्द्रित हुनेछन् ।

        राम्रोसँग चयन गर्न सक्ने क्षमताको विकास हुनेछ ।

        पूर्वधारणा तथा रुढीवादिताबाट बाहिर निस्केर सोच्न सक्ने क्षमताको विकास हुनेछ ।

        सोचमा नयाँपनको विकास तथा कामलाई सिर्जनात्मकरूपले क्रियान्वयन गर्न सक्ने हुनेछन् ।

३.    विद्यार्थीहरुमा सामाजिक तथा भावनात्मक योग्यताहरूको विकास गराउनेः

        आत्मीयताको विकास हुनेछ । (अरूको स्थितिलाई बुझेर स्वयंलाई उसको स्थितिमा राखेर त्यसैअनुसार प्रतिक्रिया दिन सक्ने हुनेछन् ।)

        सम्बन्धमा एकअर्काका अपेक्षाहरुलाई बुझ्न सक्नेछन् ।

        तनाव तथा बेचैनीबाट छुट्कारा पाउन सक्षम हुनेछन् ।

        कठिन परिस्थितिलाई पहिचान तथा मनन गरेर ध्यानपूर्वक त्यसको समाधानको बारेमा निर्णय लिन सक्ने हुनेछन् ।

        सम्बन्धको पहिचान गरी त्यसलाई कायम राखिरहने छन् तथा विवादको स्थितिमा उपयुक्त समाधान प्रदान गर्न सक्नेछन् ।

        अझ राम्रो संप्रेषण तथा अभिव्यक्ति कौशलको विकास हुनेछ ।

४.    विद्यार्थीहरुमा आत्मविश्वास तथा मनोहर व्यक्तित्वको विकास गराउनेः

        दैनिक जीवनप्रति सन्तुलित दृष्टिकोणको विकास हुनेछ ।

        आत्मविश्वास तथा मोहक व्यक्तित्व झल्किनेछ ।

        स्वास्थ्य एवं स्वच्छताप्रति जागरुकता बढ्नेछ ।

        स्वयं, परिवार, समाज तथा प्राकृतिक व्यवस्थालाई बुझेर तीनको सराहना गर्न सक्ने हुनेछन् ।

        आफ्नो जिम्मेवारी बुझेर बाँच्नेछन् ।

५.    शिक्षकहरुमा शिक्षण सिकाइ सीप विकास गराउनेः

        आवश्यक शिक्षण सामग्री निर्माण गर्न सक्ने तालिम ।

        पाठ योजना तथा कक्षा शिक्षण गर्ने सिपको विकास

        विद्यार्थीको सिकाइ प्रति अभिरुची बृद्धि ।

६.    अभिभावकलाई सिकाइ प्रति  जागरुक बनाउनेः

        सिकाइमा अभिभावकको भुमिका स्पष्ट गराउने ।

        सहभागिता मुलक सिकाइको लागि अभिभावकको भुमिकाको विकास गर्ने ।

        विद्यालय तथा अभिभावक बिचको सम्बन्धलाई सुदृढ बनाउने ।

        अभिभावक विद्यार्थी बिचको सम्बन्ध मजबुत बनाउने ।

३. उद्देश्य प्राप्तिका लागि गरिने क्रियाकलापहरुः

        कक्षा  एकदेखि कक्षा आठ सम्म नियमित एक घण्टि जीवनमुल्य शिक्षाको कक्षा सञ्चालन गर्ने ।

        यस्तो कक्षा सञ्चालन गर्न योग्यता पुगेका शिक्षकहरुलाई प्रशिक्षित गर्ने ।

        यस्तो कक्षाको नियमित अनुगमन तथा मुल्याङ्कन गर्ने ।

        सम्बन्धित विद्यालयका अभिभावकहरुको लागि नियमित अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने ।

        आवश्यक परेको अवस्थामा व्यक्तिगत परामर्श प्रदान गर्ने ।

        विद्यार्थी उत्प्र्रेरणा कक्षा सञ्चालन गर्ने ।

 

यो विषय कुनै तालिम कार्यक्रम नभई वार्षिक कार्यतालिका भएको हुनाले यो गतिविधिमा आधारित कार्यक्रम सञ्चालन गर्नको लागि निम्न प्रक्रिया आवश्यक देखिन्छ ।

१) कार्यक्रम सञ्चालनको लागि मिति तथा समय निर्धारण ।

२) तालिममा सहभागी हुने शिक्षक छनौट । (सबै शिक्षकको लागि अति आवश्यक भए पनि कक्षा १ देखि ८ सम्म पढाउने सबै शिक्षक अनिवार्य)

३) ६ दिने (२४ घण्टा) तालिम सञ्चालन (आवश्यकता अनुसार समय निर्धारण गरिने)

४) कक्षा १ देखि कक्षा ८ सम्मका अभिभावकहरुको लागि वर्षभरिमा ३ पटक अभिभावकीय कार्यशाला

५) प्रत्येक विद्यालयका कक्षा १ देखि कक्षा ८ सम्मका प्रथम कक्षा (पिरियड) मा जीवन मूल्य शिक्षा को प्रयोग ।

६) प्रत्येक विद्यालयबाट एकजना मेन्टर शिक्षक चयन गरी वर्षै भरि निरन्तर छलफल

७) विशेष विद्यार्थीको लागि व्यक्तिगत परामर्श

८) वर्षै भरि निरन्तर अनुगमन (अनलाइन र अफलाइन)

९) शिक्षकको लागि साप्ताहिक रुपमा अनलाइन कक्षा (प्रत्येक शनिवार साँझ १.५ घण्टा)

सम्बन्धित विद्यालयलेः

क) कक्षा १ देखि ८ सम्म प्रथम पिरियड (शून्य समय) जीवनमूल्य शिक्षाको लागि व्यवस्थापन गर्नु पर्ने

ख) सेक्सन नभएको अवस्थामा ९ जना शिक्षक तालिमको लागि व्यवस्थापन गर्नु पर्ने

ग) अभिभावक, विद्यार्थी अभिमुखीकरण कार्यक्रमको लागि हल तथा प्रोजेक्टरको व्यवस्था गर्नु पर्ने

Chetana Vikash